Title: Understanding गर्नु है भानु बाजे....!!
Genre: Comedy
Genre: Comedy

तिम्रो Birthday आँउदैछ
साहित्यको गुण-गाण गर्ने दिन
नेपालि भनि गर्व गर्ने दिन आँउदैछ....
कतिले बाकसमा राखेर
कुच्चिएको, खुम्चिएको,
मुसाले खाईसकेको,
ठस-ठस ढ़ुड़ि गनाउने
दउरा सुरुवाल निकाली घाममा सुकाँउदैछन
कतिले दराजमा एक बर्ष देखि बन्द रहेको
धमिरा लाग्दै गरेको
माछा किराले खान थालेको
रामायण निकाली टकटकाउदैछन....
बिचरा,
लेउले पुरिसकेको
भानु बाजे, तिमी फेरि रमाउने भयौ
बनमाराको झाड़िले छोपिसकेको
भानु बाजे, तिम्रो मुर्तिले फेरि घाम देख्ने भयो….
हन.... हाम्रो बजारको कमिटी हल नेर पनि
तिम्रो प्रतिमा थिएछ....
मैले ध्यान नदिएर हो
या त जंगलले पुरेर हो
अहँ…. मैले त तिमीलाई कहिले देखेको थिइन
कति हिड़े, कति डुले म त्यो बाटो
सरी है बाजे, तिमीमा मेरो आँखा पटक्कै गएन....
रंग लाएर चटक्कै छौ होला अहिले,
खुशिले गद-गद भएर हाँसिरहेको छौ होला अहिले....
आफ्नो Birthday पर्खेर....
तर के गर्नु बाजे.....?
‘भानु जयन्ती’ भन्दा ‘भेलेन्टाईन डे’ लाई महत्व दिने
धेरै छन यहाँ
आदिकवि.... तिम्रो भन्दा
‘यामा बुद्ध’ र ‘लाउरे’ को छन धेरै fan यहाँ
दिउँसो रामायण पाठमा भन्दा
बेलुकिको ‘नाइट प्रोग्राम’ मा धेरै घुईचो हुन्छ यहाँ
दउरा सुरुवाल लगाउन नजान्ने त झन
कति छन कति यहाँ
नेपाली बोल्न लजाउने र ठुटे इंगलिश पढ़काउने
खोज्नु पर्दैन यहाँ.....
तर जे सुकै होस!
एकै दिनको लागि भएपनि,
जता-ततै.....
साहित्यको कुरो गरिनेछ
शुद्ध नेपाली शब्दहरु छानेर
वक्त्व्यहरु राखिनेछ
कविता पढ़िनेछ
रामायण पढ़िनेछ
फेरि बेलुकि उहि त हो
दउरा सुरुवाल, नेपाली टोपी
फेरि पट्याएर बाकसमा थन्काईन्छ
रामायण पोको पारि फेरि दराजमा राखिन्छ
अर्को साल फेरि भानु जयन्ति आउनेछ
लेउले छोपेको,
बनमाराको झोड़िले पुरेको
भानु बाजे... तिम्रो मुर्तिले घाम देख्नेछ....
भानु बाजे, नरिसाउनु तिमी
रिसले दाह्रा नकिटनु तिमी
साह्रै बिजी छौ है हामी सबै त
अब…. तिमी नै Understanding गरिदिनु
अब…. तिमी नै Understanding गरिदिनु………||
- अमिर भण्डारी
إرسال تعليق