काकी झुण्डिन् रे | Kaki jhundin re | poem on domestic violence | domestic violence poem

काकी झुण्डिन् रे | Kaki jhundin re | poem on domestic violence | domestic violence poem


This article is all about domestic violence and its aftermath.

Poem Title: काकी झुण्डिन् रे.....!! 

poem-on-domestic-violence
poem on domestic violence
आज निकै खैला-बैला देख्दैछु
काका-काकी को घरमा
मान्छेको भिड़ पनि निकै छ
तिर्पल पनि ओड़ाईएको छ,
कोहि रुँदैछ्न् डाको छोड़ी
कोहि सुकसुकाईरहेछ
कोहि फेरि आँखा भरि आँसु बनाई
एकोहोरो टोलाईरहेछ ॥

एसो सोध-खोज गर्दा, काकी खसेछ्न्
रातिनै कतिबेला, पासो लगाई झुण्डिएछ्न्
सधैं मिठो बोल्ने ति काकी
त्यो हाँसिलो अनुहार,
मानौ उनि संग दुख भन्ने केहि थिएन,
तर अचानोको पिर खुकुरीले बुझ्दैन भने झै
उनको पनि आफ्नै पिर थिएछ,
सधै रक्सि खाएर घर आउने काकाले
कति घर-झगड़ा गर्थेछ्न्,
कति पिटथेछ्न्, कति जगाटाउथेछ्न्,
कति अरु संग आँखा लगाई
नाना थरि भन्थेछ्न् ॥

बुढ़ि कुटेर आफुलाई मर्द ठान्ने काका
आज एक कुनामा बसिरहेछ्न्,
ति निर्धक्क सुतिरहेकी काकीलाई
नियालेर हेरिरहेछ्न्......
अब काकाले कसलाई कुटेर
आफ्नो मर्दको सबूत दिने ?
कसलाई जगटाएर आफु बलियो महसुस गर्ने ?

त्यस्ता हजारौ काकाहरु छन् हाम्रो समाजमा,
पल्लो घर, ओल्लो घर,
माथिल्लो घर, तल्लो घर,
कोहि त आफ्नै घरमा होलान्,
जसलाई आफु मर्द हुँ भनेर
आफैलाई सधैं सम्झना गराउनु पर्छ,
बुढ़ि कुटेर, आमा-बाउ कुटेर.....
र त्यस्ता काकीहरु पनि छन होला
जो समाज को डरले, लाजले,
केहि नबोलि, शरिरभरि चोट बोकि
हाँसिरहेछ्न्, खोक्रो खुशि देखाईरहेछन् ॥

मर्दनै हुनु मन छ तिमीलाई भने
लड़ न ति समाजका कुप्रथाहरु सित,
ति जात-पात बेकारका ढ़ोङहरु सित,
हाम्रो अस्तित्वलाई औंला ठराउने सित,
ति हाम्रो चेलि-बेटी माथि हात-पात गर्ने,
छेड़-छाड़ गर्ने, बलात्कार गर्ने
लड़ न तिमी ति स्यालहरु सित,
ति हाम्रा छोराहरुलाई नानाथरि टेब्लेट बेच्ने
ति नशाका ब्यापारीहरु सित,
लड़छौनै तिमी भने,
लड़ तिमी ति भ्रष्टचारीहरु सित
ति सोझ-साझालाई लुट्ने हरेक लुटेराहरु सित
नछोड़ बरु कसैलाई,
ति समाजका बोझ र कलंकहरुलाई
जरै देखि उखेलेर फालिदेउ,
र पो मान्नेछौं तिमीलाई मर्द
त्यो मातेर भाँड़ा पछार्दैमा ,
ति निर्बल नारिलाई कुट्दैमा त तिमी
हाँसो को पात्रो बन्दैछौ,
एउटा नहुनु पर्ने उदाहरण बन्दैछौ ॥

अझै पनि बुझ्दैनौ तिमीले भने
भोलि फेरि एउटी काकी, माईजु, फुपु,
दिदी, बहिनी, छ्यामाको घरमा
फेरि तिर्पल ओड़ाईनेछ,
फेरि कोहि जिउ भरि चोट र
मनभरि पीर बोकि पासो लाउनेछ्न्,
कोहि बिख खानेछ्न्, कोहि हाम फाल्नेछ्न्,
स-साना नानि हरु पछि छोड़ेर,
उनिहरुको कलिलो हृदयमा नमेटिने छाप छोड़ेर ॥

- अमिर भण्डारी, ‘छ्त्रे’
मलबाँसे, सोरेङ

Did u like काकी झुण्डिन् रे | Kaki jhundin re | poem on domestic violence | domestic violence poem ?

Post a Comment

أحدث أقدم